काठमाडौँ,२७ भदौ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ गते भएका घटनाबारे नेपाली कांग्रेसले देशसँग माफी माग्नुपर्ने बताउनुभएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले ती घटनाहरू अकल्पनीय भएको भन्दै, कांग्रेस सरकारमा रहेका कारण पार्टीको अनुहारमा दाग लागेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, "भदौ २३ गते अकल्पनीय घटना भयो। तपाईं र म सरकारमा थिइनौं, तर हाम्रो पार्टी सरकारमा थियो। त्यसकारण हाम्रो अनुहारमा दाग लागेको छ। कांग्रेस पार्टीले देशसँग माफी माग्नुपर्छ।"
थापाले भदौ २४ गते कांग्रेस सभापतिसहित सयौं कार्यकर्तामाथि आक्रमण, घर–जग्गा र सम्पत्तिमा तोडफोड र आगजनी भएको जनाउँदै, यस्ता घटनाहरूले थप क्षति पुर्याएको बताउनुभयो।
उहाँले जनआक्रोशलाई स्वाभाविक भने पनि नियोजित हिंसात्मक गतिविधिहरूलाई कानुनी दायरामा ल्याइनु पर्ने आवश्यकता औंल्याउनुभयो। “नयाँ सरकार बनेपछि २३ र २४ गतेका अमानवीय घटनाको छानबिन गर्नुपर्छ र दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ,” उहाँले भन्नुभयो।
महामन्त्री थापाले कांग्रेसले पुनर्निर्माणको नेतृत्व लिनुपर्ने र विगतमा माओवादीसँग सम्झौता गरेर जस्तै घाउ पुर्ने काम अहिले पनि जिम्मेवारीका साथ गर्नुपर्ने बताउनुभयो। "उत्तेजना फैलाउने होइन, सबैलाई जोड्ने पहल गर्नुपर्छ,"उहाँले भन्नुधयो।
देशलाई संकटबाट निकाल्न कांग्रेस सक्रिय रहेको उल्लेख गर्दै उहाँले राष्ट्रपति, अन्य राजनीतिक दल तथा आन्दोलनकारीहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार, आन्दोलनरत जेनजी समूहको मागअनुसार छानिएको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। "सम्भवत आज साँझसम्म अन्तरिम सरकारको टुंगो लाग्न सक्छ,"उहाँले बताउनुभयो।
भिडियो सन्देशमा थापाले कांग्रेस सुधारको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै, पार्टीभित्रको अनावश्यक संरचना हटाउने र गुटबन्दी अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो। साथै, उहाँले तीव्र दलीयकरणबाट समाजलाई मुक्त गर्न कांग्रेस तयार रहेको स्पष्ट पार्नुभयो।