ललितपुर, २२ भदौ
प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कुरा सह्य भए पनि देशलाई हेप्ने प्रवृत्ति सहन नसकिने बताउनुभएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी विधान महाधिवेशनको आज समापन सत्रलाई सम्बोधन गर्दै उहाँले बेथिति र हेपाहा प्रवृत्तिको सधैं विरोध गर्ने स्पष्ट पार्नुभयो।
“राष्ट्रियता कविता वा क्षणिक स्वार्थ होइन, स्वाधीनता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिँदै आएका हौं,” अध्यक्ष ओलीले भन्नुभयो। उहाँले सामाजिक सञ्जालको विरोध एमालेले नगरेको उल्लेख गर्दै नेपालमा व्यवसाय गर्ने तर कानुन विपरीत क्रियाकलाप भने सह्य नहुने बताउनुभयो।
प्रधानमन्त्री ओलीले समाजलाई भड्काउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै ‘जेनजी पुस्ता देशलाई माया गर्ने पुस्ता’ भएको उल्लेख गर्नुभयो।
“कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ। पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ”, उहाँले भन्नुभयो।
सामाजिक सञ्जाल दर्ताबारे सरकारको एक वर्षअघिको सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको निर्णय स्मरण गराउँदै उहाँले स्वाधीनता स्वाभिमानबाट प्राप्त हुने र स्वाभिमानबाट नै स्वतन्त्रता सम्भव हुनेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो “अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ”।
उहाँले असमानता कम गर्दै विभेद अन्त्य गर्ने नीति एमालेको रहेको बताउँदै छलफलबाट प्राप्त नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ सफल बनाउन पार्टी अघि बढिरहेको उल्लेख गर्नुभयो।