अर्घाखाँची : अर्घाखाँचीमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी शव भान्साकोठाभित्रै खाडल खनेर पुरेको विभत्स घटना सार्वजनिक भएको छ।
श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका-४, पातलेका ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, किरण गुरुङ, प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ स्थायी घर भई, विगत ८ वर्षदेखि अर्घाखाँचीको पातलेपोखरामा आफ्नी श्रीमती ३४ वर्षीय सुमित्रा कुमाल गुरुङ र ९ वर्षीया छोरी सरु गुरुङसँग बस्दै आएका थिए।
सुमित्रा कुमाल गुरुङ चार–पाँच दिनदेखि हराइरहेकी र छरछिमेक तथा माइती पक्षले पनि उनलाई नदेखेपछि १६ साउनमा प्रहरी चौकी बल्कोटमा खोजतलासका लागि मौखिक जानकारी गराइएको थियो।
मौखिक जानकारी पश्चात प्रहरीले निजको खोजतलास तथा अनुसन्धानको क्रममा खुल्न आएको तथ्य अनुसार, १२ साउनको राति १२:०० बजे श्रीमान–श्रीमतीबीच सामान्य वादविवाद भएको थियो। त्यस क्रममा किरण गुरुङले बाँसको लाठि र हँसियाको पछाडिको भाग प्रयोग गरी श्रीमतीलाई हानि पुर्याएर हत्या गरेका थिए। त्यसपछि मृतकको लास कम्बलमा पोको गरी भान्साकोठामा खाडल खनी गाडिएको अवस्थामा फेला परेको थियो। लास सडेको र गन्ध आएको अवस्थामा १६ साउनको रात ८:३० बजे प्रहरी टोलिले उत्खनन गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएको छ।
पक्राउ परेका किरण गुरुङलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हिरासतमा राखि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताउनुभयो।
अनुसन्धानको क्रममा खुल्न आएको कुराहरु:-
१.किरण गुरुङ र सुमित्रा कुमाल गुरुङको १० वर्ष अगाडी प्रेम सम्बन्ध भई दुवैको दोस्रो विवाह भएको र निजहरुको वर्ष ९ कि १ छोरी रहेको ।
२.किरण गुरुङको पूर्व श्रीमतीबाट २ छोरी रहेका ।
३.सुमित्रा कुमाल गुरुङको पूर्व श्रीमानबाट ३ छोरा रहेका ।
४.मिति २०८२।०५।११ गते जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा न. ०४ पातलेपोखरा स्थित भजनकृतनको कार्यक्रममा उपस्थित भई अं. ११:३० बजे निज किरण गुरुङ घर तर्फ गएकोमा रातको अं. १२:०० बजे घरमा पुगि श्रीमतीको हत्या गरेको ।
५. बारदातको समयमा किरण गुरुङले मादक पदार्थ सेवन गरेको ।
बरामदी दसी सामाग्रीहरु:-
१. बाँसको लाठि थान-१
२. हँसिया थान-१
३. गैँची थान-१
४. बेल्चा थान-१
५. सानो कोदालो थान-१
६. Orange रक्सीको खालि बोतल थान-१, भरि बोतल थान-१