काठमाडौं, १४ भदौ
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि शनिबार चीन प्रस्थान गर्नुभएको छ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शाङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाँनुभएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ सदस्य रहनुहुनेछ।
भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा लगायतका उच्च पदस्थ अधिकारीहरु सहभागी हुनुहुनेेेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ भने उपराष्ट्रपति हान चङसँग पनि भेटवार्ता हुनेछ। यसैगरी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य छ देशका सरकार प्रमुखहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेट हुने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । उहाँ भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।