काठमाडौं, १३ भदौ
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भोलिबाट सुरु हुने भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले चिनियाँ उपराष्ट्रपतिसँग समेत भेट गर्ने तयारी रहेको स्पष्ट पार्नुभयो।
उहाँले सुरुवातमै आफू चीनको पाँच दिने भ्रमणमा जान लागेको जानकारी दिँदै भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा म भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमणमा जानेछु।”
प्रधानमन्त्री ओलीका अनुसार भ्रमणको क्रममा उहाँले सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिता जनाउनुहुनेछ। साथै, सो अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित माल्दिभ्स, क्याम्बोडिया, लाओस, भियतनामलगायत मुलुकका शीर्ष नेताहरूसँग द्विपक्षीय भेटवार्ता तय भएको उहाँले संसद्मा जानकारी दिनुभएको छ।
प्रधानमन्त्रीको टोलीमा श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत सहभागी हुने बताउनुभएको छ।