ब्रसेल्स
युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले किएभमा रुसले गरेको घातक आक्रमणबाट आफू ’भयभीत’ भएको बताएका छन्।
युरोपेली परिषद्का अध्यक्ष कोस्टाले एक्समा लेखेका छन्, “यो समय हामी युक्रेनी पीडित र इयू प्रतिनिधिमण्डलका कर्मचारीहरूको सहयोगका लागि तयार छौँ।”
उनले भने, “इयू डराउने छैन। रुसको आक्रामकताले युक्रेन र त्यहाँका जनताको पक्षमा उभिने हाम्रो सङ्कल्पलाई बलियो बनाएको छ।”
कोस्टाले एउटा कार्यालयको भित्री भागको तस्वीर पोस्ट गरेका छन् यसमा झ्यालहरू फुटेका छन्, छत आंशिक रूपमा तल झुन्डिएको छ र आक्रमणका कारण खसेका भवन र झ्यालका भाग भुइँमा छरिएका छन्।”
युक्रेनका लागि इयूका राजदूत क्याटरिना माथेरनोभाले विस्फोटको झट्काले नियोगको भवनमा गम्भीर क्षति पुगेको बताएका छन्।
इयूका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इयूका कुनै पनि कर्मचारीलाई चोट पटक नलागेको बताएका छन्। युक्रेनी अधिकारीहरुले रातभर भएको बमबारीमा एक बालकसहित १० जनाको मृत्यु भएको बताएका छन्।
इयूका उच्च कूटनीतिज्ञ काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “विश्वले शान्तिको बाटो खोजिरहेको बेला रुसले क्षेप्यास्त्रप्रहार गरेको छ।”
“किएभमा रातिको समयमा भएको आक्रमणले रूसले शान्ति प्रयासलाई नबढाउने र खिल्ली उडाउने सुनियोजित निर्णय गरेको देखाउँछ,” उनले भने। रासस