युनिभर्सिटी अफ टेक्सास एट एल पासोको नेपाली विद्यार्थी समाजले अगस्ट २३ २०२५ शनिबारको दिन अति सभ्य तवरले बालबच्चाहरुको लागि फेश पेन्टिङ र बलून ट्विस्टिङ, नव आगन्तुक विद्यार्थीहरुलाई गुलाबको फूल सहित स्वागत, भुपु बिद्यार्थी समाजका कार्यकारी सदस्यहरुलाई मायाको चिनो, तीज कार्यक्रम सफल बनाउन विद्यार्थी समाजलाई सामाजिक, आर्थिक, र साँस्कृतिक सहयोग गर्नुहुने नेपाली समुदायका सदस्यहरुलाई मायाको चिनो, माया र सम्मान, नेपाली नानीबाबुहरुको नाचगान, दर खाने कार्यक्रम, जेष्ठ नागरिकहरुलाइ सम्मान, भव्य नाचगान आदि गरेर मनायो ।
उक्त कार्यक्रम सन्चालन गरेकी विद्यार्थी समाजकी सचिव मेनुका गुरुङले शुरुमै कार्यक्रममा उपस्थित एल पासो समुदायका दुई अभिभावक धर्म भुसाल र देउ नारायण न्यौपाने लाई अगाडी बोलाउँदा सबैले नमस्कार गरी ताली बजाए भने त्यस लगत्तै वहाँहरुकै हातबाट नव आगन्तुक विद्यार्थीहरुले रातो गुलाब, सहयोगी मनहरु र भुपु विद्यार्थी समाजका सदस्यहरुले नेपालको झण्डा भएको पिन लिदै गर्दा सहभागी सम्पूर्ण व्यक्तिहरुले विद्यार्थी समाजले गरेको काम प्रति निकै नै प्रशंसा गरेका थिए भने कार्यक्रममा पाएको मायाले आमाबुबाको माया पोको पारेर भर्खर नेपालबाट बिभिन्न संकाय र अनुसन्धान विधामा पि एच डी गर्न अमेरिका पुगेका रिसर्चरहरु मिन प्रसाद शर्मा, हरि प्रसाद आचार्य, प्रकृती अधिकारी, दीपा सिलवाल, सन्नी कर्माचार्य, सरोज राउत, राज कुमार गिरी, पदम भण्डारी, प्रबिन खड्का र खेम राज तिवारीले भावुक हुँदै यस्तो मायालू नेपाली समाज बिदेशमा होला भन्ने कल्पना समेत नगरेको पनि सुनाउनु भयो भने आफ्नो छोटो मन्तव्यमा संस्थापक सचिव डा• कमल न्यौपानेले विद्यार्थी समाजको काम देखेर आफू निकै हर्षित भएको बताएका थिए ।
कार्यक्रममा नानीहरु एरिना भुसाल, अनश्रुता पौडेल र रितिका कोइरालाले 'तीजको रहर आयो बरिलै' गीतमा संयुक्त नाच र बाबु गोरख तुलाचनको अङ्ग्रेजी, नेपाली र स्प्यानिश गीतमा फुर्तिलो प्रस्तुती दिंदै गर्दा उपस्थित सबै दङ्ग पर्दै नानीबाबुहरुलाई नेपाली सँस्कार सिकाएकोमा एल पासोबासी नेपाली समुदायले अभिभावकहरुलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता दिन शुभकामना पनि दिनु भएको थियो।
कार्यक्रमको प्रशंसा गर्दै एल पासो समुदायकी अभिभावक शुस्मा कार्कीले आगामी दिनमा पनि विद्यार्थी समाजलाई सहयोग गर्न तत्पर रहेको जनाउनु भयो भने एल पासो बासी नेपाली समुदायले विद्यार्थीहरुलाइ गरेको अथाह माया, साथ र सहयोग नै यसको मेरुदण्ड रहेको विद्यार्थी समाजका अध्यक्ष पूर्णचन्द्र भुसालले बताउनु भयो । अध्यक्ष भुसालले कामको दैडानमा एल पासो समुदायका अगुवा शुशिल भुसालको साथ, सहयोग र सल्लाह सुझावले कार्यक्रम सफल बनाउन निकै सहयोग गरेको भन्दै खुलेर प्रसंशा गर्नु भयो । भुसालको कुरामा सहमति जनाउँदै हिसाब किताबका लागि माहिर कोषाध्यक्ष सन्जिब निरौला ले नेपाली समुदायबाट नै कार्यक्रमको प्रमूख आर्थिक सहयोग जुटेको बताउनुभएको थियो । यसै शिलशिलामा उपाध्यक्ष अम्बिर खड्काले नवगठित विद्यार्थी समाजको कार्यकालमा नेपाली समुदायको एकता झाङ्गिदै गएको र यस्लाई अझै अगाडि बढाउने समेत बताउनु भयो भने हातमा क्यामेरा बोकेर सबैका फोटा खिच्दै हिड्नु भएकी रेनुका खतिवडाको विद्यार्थी समाज र एल पासो समुदायप्रति गरेको निस्वार्थ सेवा देखेर सबैले प्रशंसा गरेका थिए।
विद्यार्थी समाजका डक्युमेन्टरियन रोशन कँडेलले त झन तीन दर्जन तीज गीत आफैले किनेर आफै डिजे को भुमिकामा बसी सबैलाई भरपुर मनोरन्जन पनि दिन भ्याए भने माहोल तात्दै जाँदा सबै जना जुरुक जुरुक उठेर र बसेर नाचेको देखेर बिदेशीहरु पनि चकित परेको थिए भन्नु हुन्छ विद्यार्थी समाजका अति नै सक्रिय र सहयोगी सदस्यहरु शोभा लुईंटेल र नगेन्द्र कार्की अनि नेपाली सारीमा सजिएकी अमेरिकी समुदायकी सहभागी मरिस्सा बोन्ड । त्यस्तै नाच्न र नचाउन खप्पिस मानिएका विद्यार्थी समाजका भुतपुर्व अध्यक्ष शंकर पौडेलले माहोल निकै तताएकोमा वर्तमान अध्यक्ष भुसालले हात मिलाएर धन्यवाद दिँदै यो माया सधैं पाईरहने आशा पनि व्यक्त गर्नुभयो । उता खानाको व्यवस्थापन गर्नु भएका राज कुमार बराल, वुद्ध लामा, रामजी भुसाल र मिन प्रसाद शर्माको आतिथ्य सत्कार देखेर जो कोही मोहित भएको बताउनु हुन्थ्यो नेपाली समुदायकी दाहिने हात र तीज कार्यक्रमलाइ भेन्यु खोज्ने देखि सजावट अनि साउण्ड सिस्टम सम्मको जोहो गरेर बेला बेलामा सल्लाह सुझाव दिइरहनु भएकी नमूना घिमिरे ।
समग्रमा यस कार्यकम विद्यार्थी समाजको इतिहासमै उत्कृष्ट मध्ये एक रहेको र यसले नेपाली मन र मुटुहरु एकिकृत गरेको बताउनु हुन्थ्यो विद्यार्थी समाजलाइ पहिल्यै देखि सहयोग गरिरहने सुशीला क्षेत्री । विद्यार्थी समाजका अनुसार कार्यक्रम सफल बनाउन सम्पूर्ण विद्यार्थी साथीहरु र एल पासो बासी नेपाली समुदायको उतिकै भूमिका रहेको र कार्यसमिले त्यसलाइ समायोजन मात्र गरेको कुरामा जोड दिनु भयो । अन्त्यमा विदेशमा रहेर पनि आफ्नो पि एच डी अध्ययनको व्यस्त समय यसरी नेपाली समाजलाई दिने विद्यार्थीहरुलाइ हामी पनि उच्च सम्मान गर्दछौं भने विद्यार्थीहरुको कार्यक्रमलाई हर कोणबाट सहयोग गर्नु हुने सबै एल पासो बासी नेपाली लगायत सम्पूर्ण महानुभावहरुमा हाम्रो पनि तीजको शुभकामना ! ! !