काठमाडौँ, ८ भदौ
गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताउनुभएको छ।
यहाँ आज आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले द्वन्द्वसँगै समाधान पनि हुने गरेको धारणा राख्नुभयो। “द्वन्द्वरहित समाज कसैले भन्छ भने त्यो काल्पनिक हो, यथार्थ होइन”, उहाँले भन्नुभयो, “जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ, हामीले द्वन्द्वलाई ठीक ढङ्गले बुझिदिनुपर्छ, द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो।”
पछिल्लो समय संविधानले गरेको अधिकारको बाँडफाँटले मुलुकमा द्वन्द्व उत्पन्न गराइरहेको सङ्केत पाइरहेको उहाँको भनाइ थियो। “पालिकाहरुबीच अहिले प्राकृतिक स्रोतसाधनको वितरण र सीमाको द्वन्द्व भएको देखिन्छ”, उहाँले भन्नुभयो, “उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गरिनुपर्छ।”
विस्तृत सम्झौताताका वार्ता समितिमा रहँदाका अनुभव सुनाउँदै उनले २०६३ मङ्सिर ५ गते सशस्त्र द्वन्द्वको समाप्त भएको बताउनुभयो। “हिंसाको समाजलाई शान्तिको रुपान्तरण गरिएको छ”, उहाँले भन्नुभयो, “द्वन्द्वका प्रकृति संसारभर फरकफरक छन्, द्वन्द्वको प्रकृति फरक छ, सर्वव्यापी छ, समाज रहुञ्जेल द्वन्द्व रहन्छ।”