काठमाडौँ, ६ भदौ
नेपाली कांग्रेसका सम्माननीय सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख हुँदै गएको बताउनुभएको छ।
शुक्रबार राजधानीस्थित ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँका अनुसार, राष्ट्रलाई पतनतर्फ जाने अवस्थाबाट उकास्ने जिम्मेवारी विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैको साझा कर्तव्य हो।
सांसद डा. कोइरालाले विद्यालय विकासका लागि केवल सानो–सानो अनुदान दिएर मात्र पुग्दैन भन्ने धारणा राख्दै शिक्षाको गुणस्तरमा जोड दिनुपर्नेमा बल दिनुभयो। उहाँले लोकतन्त्रलाई सबल बनाउन शिक्षित समाज अपरिहार्य हुने उल्लेख गर्दै भन्नुभयो, “लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। शिक्षित समाज भए सभ्य राष्ट्र बन्छ। घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ।”
उहाँले राज्यका नियम, ऐन, कानुन निर्माण गर्ने निकायदेखि सरकार सञ्चालन गर्ने नेतृत्व र पत्रकारितासमेत कतै न कतै चुकेको उल्लेख गर्दै सामुदायिक विद्यालयलाई प्रवद्र्धन गरेर मात्र देशलाई सही दिशामा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
सांसद डा. कोइरालाले वर्तमान अवस्थामा राजनीतिक मात्र नभई सामाजिक पक्ष पनि खस्कँदै गएको दोहोर्याउँदै विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैले संयुक्त रूपमा सकारात्मक सोचका साथ अघि बढे मात्र देशलाई समुन्नतितर्फ डोर्याउन सकिने धारणा राख्नुभयो।
उहाँले सरकारलाई सामुदायिक विद्यालयलाई कसरी अझ सक्षम र गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा ध्यान दिनुपर्ने सुझाव पनि दिनुभयो।