काठमाडौं, ५ भदौ
संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।
आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी, गृह, श्रम, युवा तथा खेलकुद, र वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकसम्बन्धी प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ। यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई समितिमा पठाउने प्रस्ताव गर्नुहुनेछ भने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यसैबीच, राष्ट्रिय सभा बैठक दिउँसो १२:१५ बजे बस्नेछ। सो बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
त्यस्तै, गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।