काठमाडौं,१ भदौ
भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज (आइतबार) विशेष विमानमार्फत काठमाडौं आइपुग्नुभउको छ। उहाँ परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभ्रएको हो।
भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका एजेन्डा तय गर्ने र औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं आएलगत्तै मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ। त्यसपछि उहाँले परराष्ट्र सचिव राईसँग सचिवस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। साथै, विदेश मन्त्री डा. आरजु राणा देउवासँग छुट्टै भेटवार्ता गर्ने तालिका पनि तय गरिएको छ।
आज साँझ परराष्ट्र सचिव राईको तर्फबाट मिस्रीको सम्मानमा रात्रिभोजको आयोजना हुनेछ। भोलि (भदौ २ गते) भने उहाँले पशुपतिनाथ मन्दिरको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणबारे विस्तृत छलफल द्विपक्षीय भेटवार्तामा हुने अपेक्षा गरिएको छ। यसअघि तय गरिएको भदौ ३१ र असोज १ गतेको भ्रमण दुई दिनकै हुने बताइए पनि हाल भारततर्फबाट भ्रमणको अवधि लम्ब्याउने प्रस्तावसहित छलफल भइरहेको जनाइएको छ।
यसैबीच, प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भइसकेको छ। चीन भ्रमणकै क्रममा उहाँको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने तयारी पनि भएको बताइएको छ।