काठमाडौं: जनआकाश मिडिया तथा जनआकाश साप्ताहिकको १८औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ पत्रकार डा। केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै, “मलाई सुन्दर नेपाल बनाउने रहर छ” बोलको स्वदेश गानमा अभिनय गरेका कलाकारहरूलाई पनि कदरपत्रद्वारा सम्मानित गरिएको छ।
सो अवसरमा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीले रचना गरेको उक्त स्वदेश गानको लोकार्पण गरिएको थियो। अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना प्रमुख अतिथिका रुपमा उपस्थित रहनुभएको थियो।
उपसभामुख रानाले आफ्नो मन्तव्यमा पत्रकारहरू स्वतन्त्र रहनुपर्नेमा जोड दिँदै कुनै पनि पार्टी वा विचारधाराभन्दा माथि उठेर निष्पक्ष कलम चलाउन आग्रह गर्नुभयो। उहाँले सामाजिक रूपान्तरण गफमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने उल्लेख गर्दै, कर इमान्दारीपूर्वक तिर्नेहरूको योगदानलाई सम्मान गर्ने संस्कार नेपालमा अझै प्रष्ट रूपमा देखिन नसकेको धारणा राख्नुभयो। साथै, सञ्चारमाध्यमहरूले समाजलाई सही तरिकाले सूचित गर्न सक्ने क्षमता भएको बताउनुभयो।
प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले जनआकाश पत्रिकाले पत्रिका, अनलाइन र युट्युबसमेत सफलतापूर्वक सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कार्कीको संघर्ष र मेहनतका कारण यो सम्भव भएको बताउनुभयो।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले १८ वर्षको यात्रा आफैंमा ठूलो उपलब्धि भएको बताउँदै जनआकाश मिडियाको प्रगतिप्रति प्रशंसा गर्नुभयो। उहाँले हालको मिडिया काउन्सिल विधेयकमा रहेका अस्पष्टता र अनलाइन मिडियालाई सिडिओ कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधानप्रति आपत्ति जनाउँदै, यसले सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य दामोदर ढकाल (दीपक)ले राख्नुभएको थियो भने उपस्थित सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।
जनआकाश मिडियाले “मलाई सुन्दर नेपाल बनाउने रहर छ” बोलको स्वदेश गान jana akash tv युट्युब च्यानलमार्फत हेर्न सकिने जानकारी दिएको छ।