काठमाडौँ, २९ साउन
वैदेशिक सहायता समीक्षापछि नेपाल र संयुक्त राज्य अमेरिकाको साझा प्रतिबद्धतासँगै मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत्प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा आज १८० किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको हो।
प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग भएको छ।
संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिनेछ।
अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर बिष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।
एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले “नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयता सुधार गर्न तथा क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्न सँगै काम गर्न पाउँदा गर्व महसुस भएको” बताउनुभयो।
अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेशन निर्माणमा अमेरिकी सहयोगको प्रशंसा गर्दै सरकारी समर्थन निरन्तर रहने बताउनुभयो।
उहाँले भन्नुभयो “आज भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो”
नेपालस्थित अमेरिकी दूतावासका नियोग उप– प्रमुख श्री जेसन मीक्सले भन्नुभयो “यस साझेदारीमार्फत हामी विद्युत्प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौँ। एमसीसी कम्प्याक्ट नेपाल नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको आधारशिला हो। सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्न सँगै अगाडि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौँ।”
एमसिए–नेपालका कार्यकारी निर्देशक श्री बिष्टका अनुसार, ६९ करोड ७० लाख अमेरिकी डलरको लगानीमा सञ्चालित एमसीसी नेपाल कम्प्याक्टले विद्युत प्रसारण र सडक मर्मत आयोजना मार्फत महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार विस्तार र यातायात सञ्जाल सुधार गर्नेछ।
उहाँले भन्नुभयो, “कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको हामी सराहना गर्छौं। आजको यो महत्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिबिम्बित भएको छ। हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित छौँ । एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो। विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसीसी नेपाल कम्प्याक्ट तयार गरिएको हो।"