ललितपुर, २९ साउन
नेपाली कांग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको उचित र जिम्मेवार प्रयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानव जीवनमा गम्भीर प्रभाव पार्न सक्ने उल्लेख गर्दै यसबाट सचेत रहनु अपरिहार्य भएकोमा जोड दिनुभयो।
महामन्त्री शर्माले भन्नुभयो, “डिजिटल माध्यमको प्रयोगका कारण समाजमा चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ। यस विषयमा सचेत गराउनु हाम्रो जिम्मेवारी हो। आगामी पुस्तामा पार्टीको मूल संदेश पुर्याउन, कांग्रेसको प्रचार प्रसार गर्न, नकारात्मक भाष्यको सामना गर्न, सरकारका कमजोरी सुधार गर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै डिजिटल माध्यमको उचित प्रयोग अनिवार्य छ।”
कार्यक्रममा पार्टीका सहमहामन्त्री माननीय महेन्द्र यादवले पनि पार्टीभित्रका गुटबीच प्रतिस्पर्धाका लागि डिजिटल माध्यमको गलत प्रयोगले पार्टीलाई क्षति पुगेको उल्लेख गर्दै, समाजमा सकारात्मक सन्देश प्रवाह र चुनावी परिचालनमा सही प्रयोगबाट लाभ प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो।
पार्टीका कोषाध्यक्ष माननीय उमेश श्रेष्ठले डिजिटल माध्यमको प्रभावकारी प्रयोगले पार्टीको प्रचार प्रसारलाई थप सशक्त बनाउन सक्ने धारणा प्रस्तुत गर्नुभयो।