काठमाडौँ,२९ साउन
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूबीच हिजोे भर्चुअल बैठक भएको छ। बैठकपछि युरोपेली पक्षले रुसी राष्ट्रपति पुटिनसँग भोलि हुने शिखर वार्ता सकारात्मक आशा व्यक्त गरेका छन्।
बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले भूभागसम्बन्धी कुनै पनि निर्णयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सहभागिता आवश्यक हुने र सुरक्षा सुनिश्चितता सम्झौतामा समावेश हुनुपर्ने कुरा स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड, पोल्याण्डका नेताहरू, युरोपेली आयोग प्रमुख उर्सुला भन डेर लायन र नाटो प्रमुख माक रुटसँग छलफल गर्नुभएको थियो।
ट्रम्पले बैठकमा रुसले युद्ध रोकेन भने ‘अत्यन्त गम्भीर’ परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो। उहाँले वार्ता सफल भए छिट्टै पुटिन र जेलेन्स्की दुवैलाई सहभागी गराएर दोस्रो बैठक आयोजना गर्ने प्रयास गर्ने बताउनु भएको खबरमा उल्लेख छ।
युरोपेली नेताहरूले भने अन्तिम निर्णयमा युक्रेनको सहभागिता अनिवार्य भएको दोहोर्याएका छन। तर रुसको अडान भने पुरानै छ। गएको वर्ष रसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्झिया क्षेत्र छोड्नुपर्ने र नाटो सदस्यता प्रयास त्याग्नुपर्ने शर्त राख्नु भएको थियो।
युक्रेन र युरोपेली साझेदारहरूले यी मागलाई अस्वीकार गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई दिइएको कुनै पनि भूभाग भविष्यमा आक्रमणका लागि आधार बन्ने चेतावनी दिँदै सुरक्षा सुनिश्चितता आवश्यक भएको बताउनु भएको छ ।एजेन्सी