अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबारविहीन मानिसहरूलाई वाशिङ्गटन डीसीबाट तुरुन्तै बाहिर निकाल्न माग गर्नुभएको छ।
देशको राजधानीमा अपराध नियन्त्रण गर्ने वाचा गर्दै राष्ट्रपति ट्रम्पले घरबारविहीन मानिसहरूलाई वाशिङ्गटन डीसीबाट बाहिर जान भन्नुभएको बीबीसीले जनाएको छ। तर वाशिङ्गटन डीसीका मेयरले राजधानीलाई बगदादसँग तुलना गर्ने ह्वाइट हाउसको विरोध गर्नुभएको छ।
राष्ट्रपति ट्रम्पले घरबारविहीन मानिसहरूलाई बस्नका लागि राजधानीबाट टाढा ठाउँ दिने सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ। यस्तै उहाँले शहरलाई पहिलेभन्दा सुरक्षित र सुन्दर बनाउने आफ्नो योजनाको बारेमा पनि बताउनुभएको खबरमा उल्लेख छ।
यसैबीच मेयर मुरियल बाउसरले आफूहरूले अपराधको वृद्धि अनुभव नगरेको बताउनुभएको छ। राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीबाट निर्वाचित हुनुभएको हो भने सङ्घीय राजधानीकी मेयर डोमोक्र्याट हुनुहुन्छ।
ट्रम्पले गएको महिना घरबारविहीन मानिसहरूलाई पक्राउ गर्न सजिलो बनाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो र गएको हप्ता वाशिङ्गटन डीसीको सडकमा सङ्घीय कानून प्रवर्तन गर्न आदेश दिनुभएको थियो।
राष्ट्रपति ट्रम्पको योजनाको विस्तृत विवरण अझै स्पष्ट भएको छैन, तर २०२२ को भाषणमा उहाँले घरबारविहीन मानिसहरूलाई शहरबाहिर सस्तो जमिनमा उच्च गुणस्तर पालमा सार्ने प्रस्ताव राख्नुभएको थियो। त्यहाँ बाथरूम र चिकित्सा पेशेवरहरूको पहुँच प्रदान गरिने ट्रम्पले बताउनुभएको थियो।
शुक्रवार मात्रै राष्ट्रपति ट्रम्पले अमेरिकी पार्क प्रहरी, लागूपदार्थ प्रवर्तन प्रशासन, सङ्घीय जाँच ब्युरो (एफबीआई) र अमेरिकी मार्शल सेवालगायतका सङ्घीय एजेन्टहरूलाई वाशिङ्गटन डीसीमा ‘पूर्णरूपमा नियन्त्रणबाहिर’ रहेको अपराधको स्तरलाई नियन्त्रण गर्न आदेश दिनुभएको थियो।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार शनिवार राति ४ सय ५० जनासम्म सङ्घीय अधिकारीहरू तैनाथ गरिएको थियो। एजेन्सी