रामेछाप: जनैपूर्णिमाको अवसरमा जट्टापोखरी–पाँचपोखरी तीर्थयात्रामा जाने भक्तजनहरूका लागि गोकुलगंगा युवा सञ्जालको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनैपूर्णिमा नजिकिँदै गर्दा, प्रत्येक वर्ष झैं यसपटक पनि हजारौं श्रद्धालु रामेछापस्थित जट्टापोखरी–पाँचपोखरी दर्शनका लागि कठिन पहाडी यात्रा तय गर्दै छन्।
समुद्री सतहबाट करिब ४५०० मिटरको उचाइमा पर्ने क्षेत्रमा यात्रुहरूलाई उचाइको असर, चिसो मौसम, थकानजस्ता स्वास्थ्य समस्या देखिने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा उपलब्ध गराउन यो शिविरको आयोजना गरिएको हो।

शिविर पानीपाखा क्षेत्रमा सञ्चालन हुनेछ, जहाँ प्राथमिक उपचार, रक्तचाप मापन, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निःशुल्क रुपमा प्रदान गरिनेछ। थप स्वास्थ्य सेवा आवश्यक परेमा शिविर स्थलमै समन्वय गरी उपचारको व्यवस्था गरिनेछ।
गोकुलगंगा अस्पताल तथा चुचुरे स्वास्थ्य चौकीको समन्वयमा चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण तथा औषधिहरूको व्यवस्था गरिएको छ। साथै, अर्किड मेडिकल हल शिवालय, गौरीशंकर संरक्षण क्षेत्र र शिवालय क्लिनिक एण्ड थाइराइड सेन्टरको औषधि तथा अन्य आवश्यक सामग्रीमा सहयोग रहने छ।
शिविरसँगै, पाँचपोखरी–जट्टापोखरी जाने तथा फर्किने मार्गहरूमा स्वयंसेवकहरू परिचालन गरिनेछ, जसले यात्रुहरूको व्यवस्थापन, सुरक्षामा सहयोग पुर्याउनेछन्।

हिन्दू धर्मावलम्बीहरूको श्रद्धा र आस्थाको प्रतीकका रूपमा परिचित जट्टापोखरी र पाँचपोखरी जनैपूर्णिमा नजिकिँदै गर्दा तीर्थयात्रीहरूको आकर्षणको केन्द्र बनेका छन्।
रामेछापको गोकुलगंगा गाउँपालिका–१ र दोलखाको जिरी नगरपालिका–१ को सिमानामा अवस्थित यी पवित्र पोखरीहरू धार्मिक, पौराणिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। विशेषगरी जनैपूर्णिमा र नागपञ्चमी जस्ता अवसरमा यहाँ हजारौं भक्तजन दर्शन र स्नानका लागि पुग्ने गर्छन्।

पौराणिक महत्व
किंवदन्तीअनुसार, सत्ययुगमा भगवान शिवले विष पिएपछि विषको असर कम गर्न र मन शान्त पार्न जट्टापोखरीमा डुबुल्की मारेका थिए। यही कारण यो पोखरीलाई “शान्ति पोखरी” पनि भनिन्छ। धार्मिक ग्रन्थ र पुराणहरूमा समेत जट्टापोखरीको उल्लेख पाइन्छ, जसले यस स्थलको पवित्रता र ऐतिहासिकता पुष्टि गर्छ।
जट्टापोखरीको ठ्याक्कै माथि रहेको पाँचपोखरी समुद्री सतहबाट ४६०५ मिटर उचाइमा रहेको छ। एउटै पोखरीभित्र प्राकृतिक रूपमा उभिएका बाँधहरूले यसलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ। कथन अनुसार, पाण्डवहरूले वनवासका क्रममा यही पोखरीमा स्नान गरी केही समय बिताएका थिए।
तीर्थयात्राको मार्ग
जट्टापोखरी र पाँचपोखरी पुग्न चाहने श्रद्धालुहरूका लागि यात्रा पनि साहसिक र रमणीय छ। भक्तजनहरूले काठमाडौंबाट जिरीहुँदै गर्जङ्ग, खहरे, पानीपाखा र मानेडाँडा हुँदै पैदल यात्रा पश्चात जट्टापोखरी र त्यसपछि पाँचपोखरी पुग्न सक्छन्। चिसो मौसम, हरियाली, हिमाली दृश्य र शुद्ध वातावरणले यात्रालाई अझै आध्यात्मिक बनाउँछ।
धार्मिक र पर्यटकीय सम्भावना
प्राकृतिक सौन्दर्य, पौराणिक कथा र धार्मिक आस्थाको संगमले गर्दा जट्टापोखरी र पाँचपोखरी धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना बोकेको स्थान हो। विशेष पर्वमा यहाँ हजारौं भक्तजन मात्र होइन, आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप पनि बढ्ने गरेको छ।