काठमाडौँ, २० साउन
प्रतिनिधिसभा सदस्यहरुले लामो खडेरीपछि केही दिनयता मुलुकका विभिन्न भागमा भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित प्राकृतिक विपद्बाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सभाको आजको बैठकका आकस्मिक समयमा उहाँहरुले बाढीपहिराका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन तथा वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारको ध्यानाकृष्ट गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले लामो समयको खडेरीपछि तराई र पश्चिम नेपालमा मनसुन सक्रिय भएकाले सो क्षेत्रका जनतालाई सम्भावित प्राकृतिक विपत्तिबाट जोगाउन समयमै पहल थाल्न आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्षाका कारण देशभर राजमार्ग प्रभावित भएको जनाउँदै तत्काल सुरक्षित ढङ्गबाट यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले तराई-मधेसका क्षेत्रमा सर्पदंशको घटना दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा सर्पदंश उपचारको प्रबन्ध गर्न माग गर्नुभयो। आम जनता पार्टीका सांसद प्रभु साहले खडेरीको मारमा परेका तराई-मधेसका किसानलाई उचित राहत दिन माग गर्नुभयो।
नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमै गुणस्तरीय शिक्षा पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले हरेक नागरिकको सुरक्षा गर्नु राज्यको कर्तव्य भए पनि पूर्वमन्त्री जयप्रकाश गुप्ताको निवासमा रहेका कर्मचारीलाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गर्नुभयो।
रास्वपा र राप्रपाको बहिष्कार
यसैबीच, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का का सांसदहरुले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गर्न सरकारले आलटाल गरिरहेको भन्दै आजको बैठक पनि बहिष्कार गर्नुभयो।
बैठकको प्रारम्भमा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले टालटुले समितिले भिजिट भिसासम्बन्धी समस्याको समाधानका लागि विस्तृत अध्ययन गर्न नसक्ने भएकाले यसको न्यायोचित सम्बोधन नगरेसम्म सदनमा आफूहरुको विरोध जारी रहने स्पष्ट पार्नुभयो।
राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसाका नाममा भइरहेको ठगीको उच्चस्तरीय छानबिन नभएसम्म आफ्नो पार्टीले सदन बहिष्कार र बैठक भत्ता नलिने बताउनुभयो। आ–आफ्नो दलका तर्फबाट धारणा राखेर रास्वपा र राप्रपाका सांसद बैठकबाट बाहिरिनुभएको छ। रासस