काठमाडौं, १८ साउन
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको समावेशिता राजनीतिक पदमा सीमित रहेको बताउनु भएको छ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित पुस्तक ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ को विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समावेशिता केवल पद प्राप्तिको माध्यम मात्र भएको तर पेशागत दक्षता वा कामका लागि पर्याप्त नभएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “समावेशिता भनेको राजनीतिक पदमा पुग्नका लागि हो, काम गर्ने कुरामा होइन। डाक्टर, इन्जिनियर, प्रोफेसर जस्ता पेशा हासिल गर्न शिक्षा, सीप र क्षमताको विकास अनिवार्य हुन्छ। महिलाहरू राम्रो पढे, दक्ष भए भने आफैं अगाडि बढ्छन्, त्यसका लागि छुट्टै व्यवस्था गर्न जरुरी छैन।”
प्रधानमन्त्री ओलीले क्युबाको उदाहरण दिँदै भन्नुभयो, “क्युबामा महिलाको प्रतिनिधित्व अत्यधिक छ। डाक्टर, प्रोफेसर, नर्सजस्ता पेशाहरूमा महिलाको वर्चस्व छ। तर त्यो समावेशी नीतिबाट होइन, सीप र क्षमताबाट सम्भव भएको हो।”
उहाँले मानव जातिमा कुनै प्रकारको विभेद हुनु नहुनेमा पनि जोड दिनुभयो।