काठमाडौं,१८ साउन
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा पदबाट राजीनामा दिने हुनुभएको छ। उहाँले आइतबार नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको हो।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलपछि मुख्यमन्त्री लामाले राजीनामा दिन सहमति जनाउनुभएको हो। उक्त छलफलमा संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, नवनिर्वाचित दलका नेता इन्द्रबहादुर बानियाँ र लामा स्वयं सहभागी हुनुहुन्थो। चित्रकारका अनुसार, मुख्यमन्त्री लामाले दुई प्रमुख शर्तहरूमा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएको बताउनुभएको छ।
उहाँका अनुसार, लामा पक्षबाट सिफारिस गरिएका तीन जना मन्त्रीलाई शपथ गराउनु पर्ने र त्यसपश्चात सरकार सञ्चालनको विषयमा आपसी सहमतिमा अघि बढ्नुपर्ने सहमति बनेपछि लामा राजीनामा दिन सहमत हुनुभएको हो। साउन १४ गते मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको थियो।
मुख्यमन्त्री लामाले राजीनामा दिएपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने तय भएको छ। दलको नेतामा बानियाँसँग पराजित भए पनि लामाले आरम्भमा मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राख्नुभएको थियो। तर, पार्टी सभापति देउवाको निर्देशनपछि उहाँ सहमत हुनुभएको हो।
साउन १४ गतेको निर्वाचनमा लामा दलको नेतामा पराजित भएपछि पार्टीभित्रबाट राजीनामाको दबाब बढ्दै गएको थियो। यद्यपि, लामा नेतृत्वमा रहेको सरकारलाई गठबन्धन दल नेकपा एमालेको समर्थन रहँदै आएको थियो।
प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र एमालेबीच एक वर्षअघि भएको सहमति अनुसार, अब बानियाँले आगामी ८ महिनासम्म सरकारको नेतृत्व गर्ने रत्यसपछि आगामी फागुनबाट एमालेले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ।