बागलुङ,११ साउन
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आरक्षमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८ हजारले वृद्धि भएको छ।
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक पुगेका थिए भने २०८१/८२ मा यो सङ्ख्या बढेर २३ हजार ६९२ पुगेको हो। तीमध्ये सार्क मुलुकका १२ जना र अन्य विदेशी नागरिक २१३ जना मात्र रहेका छन्। बाँकी सबै आन्तरिक पर्यटक हुन्।
सुवेदीका अनुसार ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास, र बुकी तथा जलजलालगायत पदयात्राका गन्तव्यहरूको लोकप्रियताका कारण पर्यटकको आकर्षण बढेको हो। पर्यटकको बढ्दो आगमनसँगै सरकारी राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ।
उनले भने, “नेपाली पर्यटकले रु १०० प्रवेश शुल्क तिर्नुपर्ने भएकाले प्रवेश शुल्कबाट मात्रै गत आर्थिक वर्षमा २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।”
अघिल्लो वर्षसम्म मुख्यतया सिकारका लागि मात्र आउने विदेशी पर्यटकहरू हाल ढोरपाटनको प्राकृतिक सौन्दर्य, उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला क्षेत्र अवलोकन गर्न आउने गरेका छन्। यसले आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गरेको छ।
ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीका अनुसार स्थानीय होटल र घरबासको व्यवस्थापन, पोखराबाट प्याकेज टुरमार्फत पर्यटक ल्याउने व्यवस्था, र पदयात्रा मार्गहरूको सहज पहुँचले पर्यटक संख्या बढाएको हो।
समुद्री सतहदेखि २,९०० मिटर उचाइको ढोरपाटन उपत्यकादेखि ४,००० मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्, जसले यस क्षेत्रको पर्यटकीय सम्भावना अझ विस्तार भएको संकेत गर्दछ।