काठमाडौँ
आज अपराह्न १:१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा राष्ट्रियसभाको बैठक बस्ने भएको छ। बैठकको कार्यसूचीमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलको लागि निर्णय गरिने उल्लेख गरिएको छ।
यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ।
अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ। चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ।
कृषि सहकारी समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’मा भएका संशोधनहरूबारे छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने ‘मिडिया काउन्सिल विधेयक, २०८०’सँग सम्बन्धित विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुनेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)मा सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीसम्बन्धमा छलफल हुनेछ।