ललितपुर
नेपाली कांग्रेसले आफ्नो वैचारिक संरचना सुदृढ पार्ने अभियानअन्तर्गत पर्वत जिल्ला सभापति युवराज जोशीलाई विशेष सम्मान प्रदान गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष शेरबहादुर देउवाले जोशीलाई “नेपाली कांग्रेस पुस्तकालय व्यवस्थापन कोष” मा पुर्याएको योगदानप्रति कृतज्ञता प्रकट गर्दै सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो।
जोशीले कांग्रेस केन्द्रीय कार्यालय परिसरमा निर्माणाधीन आधुनिक पुस्तकालय तथा स्रोत केन्द्रका लागि उल्लेखनीय आर्थिक सहयोग गर्नुभएको थियो। पार्टीले यो सहयोगलाई “राजनीतिक मूल्य, अध्ययन संस्कृति र संस्थागत स्मृतिप्रति समर्पण” को प्रतीकको रूपमा व्याख्या गरेको छ।
पार्टी सभापति देउवाले भन्नुभयो “हामी केवल संगठन बनाउने होइन, विचार निर्माण गर्ने पार्टी हौं। यस्तो योगदानले पार्टीलाई दीर्घकालीन सोच र संस्थागत स्मृति बनाउन मद्दत गर्छ।”
कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू गगन थापा, बालकृष्ण खाँण, पूर्णबहादुर खड्कालगायत शीर्ष नेताहरूको सहभागिता थियो।
कार्यक्रमले राजनीति केवल पदको विषय नभई योगदान र विचारको सम्मान पनि हो भन्ने सन्देश दिएको छ।
“पुस्तकालय बनाउनु केवल भवन बनाउनु होइन, विचार रोप्नु हो। आजको राजनीति विचारको भोकले कमजोर छ, यसलाई पुस्तकालयले पोषण दिन सक्छ।” जिल्ला सभापति जोशी भन्नुभयो।