काठमाडौँ, ६ साउन
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि पनि सान्दर्भिक भएर गएको बताउनुभएको छ।
बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतीको आधार बिपी’ विषयक अन्तक्र्रियामा उहाँले बिपीको विचारमा अहिले मुलुक अगाडि बढिरहेको बताउनुभएको हो।
“बिपीको विचारलाई कांग्रेसले छोड्यो भन्ने यत्रतत्र सुनिन्छ, तर कांग्रेसले बिपीको विचार छाडेको छैन, आज पनि मुलुक बिपीको प्रजातान्त्रिक समाजवादकै बाटोमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो। डा कोइरालाले बिपी कोइरालाको अन्तरराष्ट्रिय छवि राम्रो भएको बताउनुभयो।
नेता डा कोइरालाले कुलिङ अफ पिरियडको विषयमा कांग्रेस सभापतिले ‘टेक एन्ड पे’ हटाउन पहल गरेजस्तै अडान लिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले बिपी कोइराला विचारमा अडिग नेता भएको बताउनुभयो।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिन्न पृष्ठभूमिबाट निर्माण भएको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले कुलिङ पिरियडलाई तत्काल सच्याउनुपर्ने बताउनुभयो। महामन्त्री शर्माले भूमि विधेयकलाई सरकारले हतार गर्न नहुने उल्लेख गर्नुभयो।
उहाँले दुई दलबीच सरकार सञ्चालनका क्रममा भएका विमतीलाई बहस, छलफल र संवाद गरेर टुङ्याउनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतामा बिपी कोइरालाको विचार अन्तरनिहित भएको बताउनुभयो। देश र जनता बलियो हुनुपर्छ भन्ने मान्यता बिपीमा भएको उहाँको भनाइ थियो।
सहमहामन्त्री डा महतले आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिक पुग्नुपर्छ भन्ने मान्यता कोइरालामा भएको बताउनुभयो। उहाँले कांग्रेस र एमालेबीच सरकार गठनका लागि भएको सहमतिअनुसार संविधान संशोधनलाई चाँडो कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गर्नुभयो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको लोकतान्त्रिक राजनीतिकको जग बिपी कोइरालाले निर्माण गरेको बताउनुभयो। नेपाली समाजवादको आधार र बहुदलवाद बिपी कोइरालाले सुरु गरेको उहाँको भनाइ थियो। नेपालको राजनीतिको इतिहास भनेको नेपाली कांग्रेसको इतिहास भएको मन्त्री पौडेलले बताउनुभयो।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्न सकेमात्र देश विकासले गति लिने बताउनुभयो। बिपी स्मृति अस्पतालका अध्यक्ष उमेशजङ्ग रायमाझीले नेपालको राष्ट्रनायक बिपी कोइराला भएको बताउनुभयो। उहाँले बिपी कोइरालालाई शिक्षा, स्वास्थ्य, साहित्यलगायतका क्षेत्रबाट सँधै स्मरण गर्दै आएको उल्लेख गर्नुभयो। रासस