काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै यो ऐतिहासिक मित्रतालाई भावी पुस्तासम्म निरन्तरता दिने दृढ संकल्प व्यक्त गर्नुभएको छ।
शुक्रबार फिनिक्स इन्स्पिरेशन द्वारा आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन–२०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको ७० वर्षे कूटनीतिक सम्बन्धले दुई देशबीचको गहिरो सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्धको प्रमाण दिएको बताउनुभयो।
‘नेपाल र चीन दुई प्राचीन सभ्यतायुक्त राष्ट्रहरू हुन्। हामीबीचको सम्बन्ध केवल कागजी सम्झौतासम्म सीमित छैन, यो सम्बन्ध आपसी समझदारी, भावनात्मक निकटता र सांस्कृतिक विविधतामा आधारित छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारको तर्फबाट यस सम्बन्धलाई अझ मजबुत बनाउन कुनै कसर बाँकी राखिने छैन।’
प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धलाई ‘बहुआयामिक साझेदारी’ का रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘मित्रताका लागि ठूलो गच्छे होइन, साँचो भावना चाहिन्छ। हामी गच्छेअनुसार होइन, चाहनाअनुसार सम्बन्धलाई अझ गहिरो बनाउनेछौं।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरूलाई पुरस्कार वितरण गर्दै उहाँहरूको योगदानको कदर गर्नुभयो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गर्नुभएको हो।