काठमाडौं,२ साउन
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र नेकपा एमालेकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। भेट चपली हाइटस्थित भण्डारीको निवासमा भएको हो।
भण्डारीको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, सुशासन, भ्रष्टाचार र देशमा बढ्दो जनआक्रोशबारे गम्भीर छलफल भएको थियो। डा. कोइरालाको पहलमा भएको भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किसकेको जनाउँदै नैतिक समर्थनको आग्रह गर्नुभएको थियो।
जवाफमा डा. कोइरालाले जनतामा गहिरिँदो निराशा र देशमा मौलाउँदै गएको भ्रष्टाचारको अवस्था उल्लेख गर्दै सुशासनका पक्षमा आवाज उठाउन भण्डारीलाई आग्रह गर्नुभयो।
“देशमा भ्रष्टाचार जरा गाड्दै गएको छ, जनताको विश्वास घट्दै छ,” कोइरालाले भने, “म निरन्तर सुशासनका पक्षमा बोलिरहेको छु, तपाईंले पनि यथास्थितिविरुद्ध धारणा राख्नुपर्छ।”
यसअघि, डा. कोइरालाले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्नुभएको थियो। प्रचण्डको प्रस्तावमा भएको उक्त छलफलमा कोइरालाले सरकारको कामकाजप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
उहाँले सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको, मन्त्रीहरू भ्रष्टाचार र घुस डिलमा संलग्न रहेको, अर्थतन्त्रको अवस्था चिन्ताजनक बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो।