काठमाडौं, साउन २
कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्।
बिहीवार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित "युवा केन्द्रित आर्थिक नीति तथा योजना" विषयक संवाद गोष्ठीमा सम्बोधन गर्दै उहाँले देशको विकास र जनअपेक्षा पूरा गर्न बाँकी समयको सदुपयोग गर्न जरुरी भएको बताउनुभयो।
महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले समय-समयमा "अब एक वर्ष म, त्यसपछि काँग्रेस" भनेर सत्ताको पालोको संकेत दिए पनि अब त्यो हिसाब–किताबको बहसमा अल्झिनु हुँदैन भन्ने धारणा राख्नुभयो। "सरकार भनेको दिन गनेर बस्ने संस्था होइन," उहाँले भन्नुभयो।
उहाँले दुई पार्टी मिलेर बनेको सरकार प्रारम्भमा केही गति लिए पनि पछिल्लो समय बरालिएको जस्तो देखिएको टिप्पणी गर्नुभयो। "सुरुमा हामीले मेहनत गर्यौँ, गति थियो," उहाँले स्मरण गर्दै भन्नुभयो, "तर अहिले सरकार दिन गनेर बसिरहेको छ जस्तो देखिन्छ।
महामन्त्री थापाले वर्तमान सरकारमा काँग्रेस सहभागी भएकाले बाँकी दुई वर्षको अवधिमा ठोस काम गरेर जनविश्वास निर्माण गर्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो। "२०८२ सम्म हामी देशको सबैभन्दा ठूलो पार्टी हौँ, सरकारमा पनि छौँ," उहाँले जोड दिँदै भन्नुभयो, "यो दुई वर्ष खेर फाल्ने समय हैन। प्रदेश, स्थानीय र संघ सबै तहले परिणाममुखी काम गरेर देखाउनु पर्छ।"
उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक दिनलाई प्रभावकारी बनाउन जोड दिँदै भन्नुभयो, "अब कुरा पालोको होइन, परिणामको हो। एक वर्ष के गर्ने, देशले के पाउने, त्यसतर्फ केन्द्रित हुनुपर्छ।