राष्ट्रिय समाचार समिति
भक्तपुर, १ साउन
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ। बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले ३८ दिन लामो श्रावणी मेलाको शुभारम्भ गर्नुभएको हो। पानीले भरिएको तामाको गाग्री बोकेर चन्द्रविनायक मन्दिर पौखेलमा हातहातमा कलश बोकेका लामबद्ध महिलासँगै धार्मिक र्यालीसहित डोलेश्वर मन्दिरमा जलार्पण गरेर मेलाको शुभारम्भ गरिएको हो।
मन्त्री थापाले डोलेश्वर महादेव विश्वभर चर्चामा रहेको जनाउदै नेपाली मात्रै नभइ भारतीय पर्यटकको आगमन अत्याधिक बढेको बताउनुभयो। धार्मिक पर्यटनको विकासमा मेलाले थप टेवा पुग्ने उहाँले बताउनुभयो।
मेलामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो। डोलेश्वरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
उहाँले श्रावणी मेलामा शनिबार र सोमबार हजाराँैको भीड लाग्ने र अन्य दिन दैनिक एक हजार नेपाली तथा भारतीय दर्शनार्थी एवं पर्यटकको आगमन हुने बताउनुभयो।
मेलाबाट करिब रु एक करोड ५० लाख भेटी तथा दान सङ्कलन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते मन्दिरको चारवटै ढोका खुल्ला गरी मन्दिरभित्रैै प्रवेश गरी आफैले पूजा गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो।
डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले मेलालाई थप प्रभावकारी बनाउन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा भजनकीर्तन गरिने बताउनुभयो। मेला अवधिमा करिब ६० जना स्वयंसेवक परिचालन गरिएको र मेलामा स्वास्थ्य शिविरकोसमेत आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको बताउनुभयो। सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले मेलालाई व्यवस्थित र सुरक्षित बनाउँन सिसीटिभी जडान गरिएको, सुरक्षाकर्मी परिचालन भएको र केही समस्या आएमा वडामा तत्काल खबर गर्न अनुरोध गर्नुभयो।
आजबाटै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ। डोलेश्वर आउने दर्शनार्थी आशापुरीसमेत पुग्ने गरेका छन्।