कञ्चनपुर, २९ असार
कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई (आउजी)को सर्पदंशका कारण मृत्यु भएको छ। महिनावारीको अवस्थामा घरको आँगनमा बनाइएको गोठमा सुतिरहेकी कमलालाई शुक्रबार राति सर्पले बायाँ गालामा डसेको थियो।
घटनापछि उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर उपचारका क्रममा शनिबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो।
मृतक दमाईका तीन जना साना बालबालिका छन् भने उनका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा रहेका छन्। स्थानीयका अनुसार कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्केकी थिइन्।
घरमा पक्की संरचना रहेको भए पनि महिनावारीका बेला उनी परम्पराअनुसार गोठमै सुत्ने गरेकी थिइन्। यही क्रममा सर्पदंशको घटना भएको हो।
नगरप्रमुख हेमराज ओझाले घटनाले आफूलाई स्तब्ध तुल्याएको बताउनुभयो। “छाउपडी प्रथा अन्त्यका लागि निरन्तर जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यस्तो दु:खद् घटनाले अझ गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता देखाएको छ।”
उहाँका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छाउपडी प्रथा अन्त्यका लागि छागोठ भत्काउने र जनचेतना फैलाउने अभियानलाई प्राथमिकता दिइएको छ।
दलित अगुवा राजुराम सार्कीले यस्तो अमानवीय कुप्रथाका कारण निर्दोष महिलाले ज्यान गुमाउनु गम्भीर विषय भएको बताउनुभयो। “महिनावारी प्राकृतिक प्रक्रिया हो, त्यसलाई हेप्ने र तुच्छ नजरले हेर्ने समाजको सोच परिवर्तन गर्नु जरुरी छ,” उहाँले भन्नुभयो।
राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले पनि छाउपडी प्रथा सुदूरपश्चिममा गहिरोसँग गाडिएको सामाजिक विकृति भएको उल्लेख गर्नुभयो। उहाँले यस्तो कुरीतिलाई अन्त्य गर्न राज्य र स्थानीय निकायले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो।
वर्तमान कानुनअनुसार छाउपडी प्रथा अवैध छ। मुलुकी अपराध संहिता २०७४ अनुसार महिलालाई महिनावारी वा सुत्केरी अवस्थाका बेला छाउपडीमा राखेमा तीन महिनासम्म कैद सजायको व्यवस्था छ।