पर्वत, २२ असार
हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व हरिशयनी एकादशीको अवसरमा आज पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ। आषाढ शुक्ल एकादशीका दिन तुलसीको बिरुवा रोप्दै पुजा शुभारम्भ गर्ने र चतुर्मास व्रत थालनी गर्ने धार्मिक परम्परा अनुसार भक्तजन बिहानैदेखि नदी किनारमा जम्मा भएका छन्।
पर्वत जिल्लाका प्रसिद्ध तीर्थस्थलहरू मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक र वारीबेनीलगायतका नदी तटमा स्नान गर्न आएका श्रद्धालुले मेला जस्तै वातावरण बनाएका छन्। विशेषगरी मोदीवेणीधाम, जहाँ मोदी नदी र कालीगण्डकी नदीको सङ्गम छ, भजनकीर्तनसहित विशेष कार्यक्रमहरू सञ्चालन भएका छन्।
पर्वत, स्याङ्जा र गुल्मी जिल्ला जोड्ने सेतीवेणीधाममा समेत टाढाटाढाबाट श्रद्धालुहरू पुगेका छन्। मोदीवेणीमा पर्वत, बागलुङ, स्याङ्जा र कास्की जिल्लाबाट हजारौँ श्रद्धालु आउने गरेका छन् भने सेतीवेणीमा बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मी जिल्लाबाट भक्तजनको उपस्थिती रहेको छ।
मुक्तिनाथ क्षेत्रबाट बग्ने कालीगण्डकी नदीलाई साक्षात् भगवान् विष्णुको अवतार मानिन्छ, किनभने यहाँ पाइने शालिग्राम शिला विष्णुको प्रतीक हो। धार्मिक विश्वास अनुसार कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरे मोक्ष प्राप्त हुने जनविश्वास छ। कालीगण्डकीमा स्नान गरे एक हजार गाई दान गरेबराबरको पुण्य प्राप्त हुने मान्यता पनि रहेको छ।
हरिशयनी एकादशीका अवसरमा कालीगण्डकीमा स्नान गरी घर फर्केपछि तुलसीको मठमा तुलसी रोप्ने प्रचलन रहेको छ। धार्मिक र स्वास्थ्य दुवै दृष्टिले तुलसीलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ।
मोदीवेणी र सेतीवेणीधाममा हरिशयनी एकादशीका अवसरमा भजनकीर्तनसहित विशेष धार्मिक कार्यक्रमहरू आयोजना गरिएको छ।