कैलाली, १९ असार:
धनगढी उपमहानगरपालिका–१४, फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा सफलतापूर्वक दुनाटपरी उद्योग सञ्चालन गर्दै आउनुभएको छ। उहाँले छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी करिब आठ लाख रूपैयाँ लगानीमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो।
सुरुमा गाउँका २० जना महिलासँग साझेदारीमा रु एक लाख ५० हजारको प्रारम्भिक लगानीमा उद्योग स्थापना गरेकी मगरले अहिले व्यक्तिगत रूपमा व्यवसाय विस्तार गर्नुभएको छ। "शुरुमा आर्थिक अवस्था कमजोर थियो, विदेश जान पासपोर्टसमेत बनाएकी थिएँ, तर समयमै उद्यम गर्न सकें, अहिले स्वरोजगार बनेकी छु," उहाँले भन्नुभयो।
उद्योगबाट मासिक करिब रु एक लाखको कारोबार हुँदै आएको छ। कामदारको तलब र परिवार खर्च कटाएर उहाँलाई मासिक रु २५ हजार जति बचत हुने गरेको छ। चार सदस्यीय परिवारको दैनिकी र छोराछोरीको शिक्षादिक्षा यही व्यवसायबाट चलिरहेको उहाँको भनाइ छ। हाल उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ।
मगरले व्यवसायसँगै अन्य महिलालाई दुनाटपरी उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आउनुभएको छ। स्थानीय वडाको क्षमता विकास कार्यक्रममार्फत उहाँले धनगढी, अछाम, बर्दिया, हसुलिया लगायतका क्षेत्रका ६० जनाभन्दा बढी महिलालाई तालिम प्रदान गरिसक्नुभएको छ।
उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको छ। टपरी रु चार र दुना रु एकमा बिक्री भइरहेको छ। उत्पादन गरिएका दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया हुँदै पोखरसम्म आपूर्ति हुने गरेको छ। "पोखराका व्यवसायीसँग सबैभन्दा बढी कारोबार हुन्छ," उहाँले भन्नुभयो, "तर, मैले उत्पादन गरेका दुनाटपरी अन्य व्यवसायीले प्याकिङ गरी आफ्नै ब्राण्डमा महँगोमा बेचिरहेका छन्। प्याकिङ मेसिन भएको भए आफ्नै लोगो राखेर बजार विस्तार गर्न सक्थेँ।"
उद्यमशीलता र योगदानका आधारमा मगर सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट महिला उद्यमीको रूपमा छनोट भई गत चैतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित समेत हुनुभएको छ। आगामी दिनमा स्थानीय र प्रदेश सरकारबाट थप सहयोग प्राप्त भएमा प्याकिङ मेसिन किनेर व्यवसाय विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।