पर्वत, १९ असार
पर्वत, स्याङजा र गुल्मीको संगम स्थल सेतीबेणीमा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला विगत एक महिनादेखि कालीगण्डकी नदीको बढ्दो सतहका कारण डुबानमा परेको छ।
मनसुन सुरु भएसँगै नदीको जलस्तर तीव्र रूपमा बढ्दा शालिग्राम शिलासहित आसपासका संरचनामा पनि क्षति पुगेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार शिला पुग्ने बाटो, नजिकैको सत्तल र परिक्रमा स्थलसमेत पानीमा डुबिसकेको छ।
निरन्तर वर्षा भईरहेकाले नदीमा पानीको बहाव झन् बढेको छ। शिला डुबानमा परेसँगै त्यहाँ कार्यरत पुजारी तथा पण्डित विस्थापित भएका छन् भने नियमित दर्शन र पूजापाठका लागि आउने भक्तजन पनि शालिग्राम शिला दर्शन गर्नबाट वञ्चित भएका छन्।
सेतीबेणीमा मिसिने सेती खोलाको र कालीगण्डकीको तीव्र बहावले परिक्रमा स्थल पूर्ण रूपमा क्षतिग्रस्त बनेको स्थानीय तिलक पराजुलीले बताउनुभयो। शालिग्राम शिलासँगै नजिकै रहेका सत्तल र अन्य संरचनाहरू पनि डुबानमा परेका छन्। शिला संरक्षणका लागि निर्माण गरिएका तटबन्ध र ग्याबिन जालीसमेत बगाएपछि हाल त्यहाँ सर्वसाधारणको प्रवेश रोक लगाइएको छ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको उच्च जोखिममा रहेको छ। कालीगण्डकी र सेती खोलाको बढ्दो बहावले बजार क्षेत्रका करिब २०० व्यापारी र सर्वसाधारण त्रसित बनेका छन्।
गत वर्ष साउनमा आएको बाढीले बजार क्षेत्रमा क्षति पुर्याउँदा एक घर भत्किनुका साथै आधा दर्जन घर विस्थापित भएका थिए। कालीगण्डकी नदीको बहाव परिवर्तन नगरेसम्म डुबानको जोखिम कायमै रहने गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताउनुभयो। उहाँले शालिग्राम शिलाको संरक्षणका लागि बहाव गुल्मी तर्फ मोडिनुपर्ने सुझाव दिनुभयो।
शालिग्राम शिला नजिकै रहेको स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर सेतीबेणी क्षेत्रको संरक्षणका लागि आवश्यक पहल गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले बताउनुभयो।