कालीकोट, ११ असार
कालीकोटको तिलागुफा नगरपालिकाले पर्यटकीय विमानस्थल निर्माणका लागि पहल थाल्ने भएको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पर्यटकीय विमानस्थल निर्माणका लागि पहल गरिने भएको हो।
नगरपालिकाभित्र पर्यटकीय क्षेत्र रुडुबन्चु पाटन, पुगमालिका लगायतका पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय विमानस्थल निर्माण गर्ने जनाइएको हो। नगरपालिकाको मालिका काँध भटारी पर्यटकीय विमानस्थल निर्माणका लागि नगरपालिकाले पहल थालेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो।
“नीति तथा कार्यक्रममा हामीले सङ्घ र प्रदेश सरकारसँग अनुरोध गरिनेछ भनेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धन गर्नका लागि पनि विमानस्थलको आवश्यकता रहेको छ।” रुडुवन्चु फुलबारी पाटनसम्म पर्यटकीय पदमार्ग निर्माण गरी नगरपालिकाको सिङ्गो आर्थिक समृद्धिसँग जोडिने र नगरपालिकाको फोइमा विमानस्थल बनाउने लक्ष्य राखिएको नगर प्रमुख उपाध्यायले बताउनुभयो।
“पर्यटन गुरुयोजनाका लागि पनि पर्यटकीय विमानस्थल आवश्यकता रहेको छ”, उहाँले भन्नुभयो, “पुगमालिका, रुडुबन्चु पाटन तिला नदी र्याटिङ गर्नका लागि पर्यटकीय विमानस्थलको आवश्यकता हो।” तिलागुफा–१ नाग्मगाडदेखि वडा नं ७ को बालीघाटसम्म र्याटिङ प्रविधिमार्फत पर्यटन प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन गरिने र वडा नं ७ को बालीघाटमा बोटिङ सेवा सञ्जालनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माणको कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने योजना बनाइएको नगर प्रमुख उपाध्यायले जानकारी दिनुभयो।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल खर्च रु ७० करोड १४ लाख १९ हजार २१० विनियोजन गरेको छ। कुल विनियोजनमध्ये चालुतर्फ रु ४७ करोड ८७ लाख ६४ हजार अर्थात् ६८ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ रु २२ करोड २६ लाख ५५ हजार ७१० अर्थात् ३१ दशमलव ७४ प्रतिशत रहेको छ।