सन्जय झापाली
इरानको खुमेनीका मानसपुत्र नेपाली बामपंथी हरुलाई विपिन जोशीको आँसुले नपोलोस् !
२१औं शताब्दीको यो यथार्थ कति बिचित्र र बिडम्बनापूर्ण छ भने, एकजना नेपाली युवक,बीपिन जोशी जो इजरायलमा शिक्षाको खोजीमा गएका थिए, हमास आतंकको क्रुर जालमा परेर हालसम्म पनि अपहरणमा छन्। २०८० सालको असोज २० गते, ईस्लामिक धार्मिक कठमुल्लाहको साम्राज्य इरानद्वारा पालित–पोषित इस्लामिक आतङ्ककारी समूह हमासले इजरायलको निर्दोष नागरिकमाथि हमला गर्दा १० जना नेपाली विद्यार्थीको हत्या गर्यो। आज पनि विपिन जोशी नामका एकनेपाली युवा हामीबाट बेपत्ता छन्। उनी बाँचिरहेका छन् या छैनन्, थाहा छैन। तर, हाम्रो मौनता, हाम्रो नेतृत्वको कमजोरी, र हाम्रो समाजको विमुखताको अर्थ केवल लाज होइन, अपराध हो।
दुःखद् दृश्य सहित भन्नुपरेको छ -यो घटनाले नेपाली राजनीतिमा रहेको नैतिक दरिद्रतालाई नाङ्गो पारिदिएको छ। जहाँ एकातिर, आतंकका संरक्षक राष्ट्र – ईरान – को खुला समर्थनमा वामपंथी विचारधारा बोकेका नेताहरू हस्ताक्षर सहित बक्तब्य र जुलुस निकाल्न व्यस्त छन्, त्यहाँ अर्कातिर आफ्ना नेपाली छोराछोरीको हत्या र अपहरणको पीडामा कुनै सामूहिक आवाज उठाइएको छैन। धिक्कार छ यस्तो बिचारधाराको नाममा बीपिन जोशीका अपहरणकर्ताको मनोबल बढाउने अतिबादी चिन्तन प्रती।
ईरान कुनै बैचारिक र सैद्धान्तिक आबरणको धार्मिक मुलुक मात्र होइन – त्यो एक इस्लामिक अधिनायकवादको दुर्ग हो, जहाँ नारी स्वतन्त्रता छैन, मानवीय अधिकारहरू छैनन्, न्यायिक स्वतन्त्रता छैन, र प्रेस स्वतन्त्रता त केवल सपना हो पत्रकार जेलयात्रामा निरन्तर जान्छन् । त्यहाँका शासक मुल्लाहरू केवल आफनो धार्मिक कट्टरतालाई कायम राख्नका लागि हरेक प्रकारको हिँसा र आतंकलाई प्रयोग गर्छन्। हमास, हुत्ती, हिजबुल्ला जस्ता संगठनहरूको पृष्ठपोषण गर्ने ईरानसँग नेपाली वामपंथी नेताहरूको साइनो केवल वैचारिक भ्रम होइन, राजनैतिक विकृति हो। स्टालिनको अपराधलाई महिमा मण्डन गर्ने बाट के आशा गर्नु? आज हामी विपिन जोशीको नाममा आँसु त बगाउँछौं, तर त्यो आँसु हाम्रो नेतृत्व, हाम्रो मौन समाज, र हाम्रो भुतपूर्व विद्यार्थी नेताहरूको लाजसँग मिसिन जरुरी छ।
नेपालका वामपंथी नेताहरूलाई सोध्न मन लाग्छ –
के तपाईंहरूको मानव अधिकारबोध केवल प्यालेस्टाइनको हमास आतङ्ककारीहरूका लागि मात्र हो ? इजरायलमा अक्टोबर महिनामा मारिएका इजरायलको निर्दोष नागरिक हरुको लागि होइन ।
के नेपाली नागरिकको ज्यानको मूल्य तपाईंहरूको विचारधाराभन्दा सस्तो हो ?
के विपिन जोशीको जीवनभन्दा महत्त्वपूर्ण तपाईंहरूको
ईरान प्रेम हो ?
यदि नेपालका नेताहरू साँच्चै जनताको प्रतिनिधि हुन् भने,ईरान इजरायल युद्धबिरामको बेला संसदमा यो विषय उठ्नुपर्थ्यो। विदेश मन्त्रालयले इजरायल सरकारसँग नियमित संवाद गरेर विपिन जोशीको अवस्थाबारे प्रष्ट पार्नुपर्ने थियो। तर यसको सट्टा देखिएको छ — सत्ता आफ्नो धुनमा नाचिरहेको छ , सत्ता सौदाबाजी र विचारधाराको दलदलमा फँसेका कमजोर आवाजहरू अहिले अस्तित्वमा छ्न । बीपी कोइरालाले इजरायल देशलाई सर्बप्रथम मान्यता दिएर खडा गरेको नेपाली रास्ट्रबादको महलमा अहिलेसम्म धेरै स्यालहरुले रजाइँ गरेका छ्न तर बीपी को थिए भन्ने बुझेका छैनन् । महात्मा गान्धीले नबुझेको इजरायल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले बुझ्दैछ्न तर बीपी कोइरालाले धेरै पहिले बुझ्नु भएको थियो ।
हाम्रो देशको परराष्ट्र नीति र मानव अधिकारप्रतिको दृष्टिकोण केवल सन्तुलन होइन, सत्य र न्यायमा आधारित हुनुपर्छ। अहिलेको सत्य ईरान बीपिन जोशीको अपहरणका जिम्मेवार हमासको खलिफा ईरान नै हो ।
इजरायलमा रहेका हजारौं नेपालीहरूको सुरक्षाको जिम्मा कसको ? आतंकको सिकार बनेका नेपालीहरूबारे अन्तर्राष्ट्रिय समुदायसँग नेपालले बोल्न नपाउने ? यो सन्देश नेपाली बामपंथीहरुले दिन खोजेको हुन कि होइनन् ? जवाफ नेपाली जनताले खोजिरहेको छ्न ।
यदि आज हामीले विपिन जोशीका निम्ति आवाज उठाउन सकेनौं भने, भोलिका दिनमा अरू कोही नेपाली पनि यस्तै आतंकको सिकार हुनेछन्।
हे पशुपतिनाथ, हामीलाई विवेक देऊ।
विपिन जोशीलाई सुरक्षित फर्काइदेऊ।
हामी नेपालीलाई केवल आदर्शवादी नारामा होइन, यथार्थमा संवेदनशील र न्यायप्रिय बनाइदेऊ।