प्यारो छोरा भिक्टर कुमार सापकोटा – तिमीमाथि गर्व गर्न शब्दहरू कम लाग्छन्। आज नेपाल राष्ट्रबैंकको सहायक निर्देशक पदमा तिमीले खुलेको प्रतिस्पर्धा पार गरी नियुक्ति पाएको समाचारले मेरो मन गदगद भएको छ। तिमीले देखाएको लगन, मेहनत, दूरदृष्टि र समर्पणको प्रतिफल आज प्रष्ट देखिएको छ।
बुढानिलकण्ठ स्कुलबाट एसएलसी र ए लेभलसम्मको शैक्षिक यात्रा, त्यसपछि सेन्ट जेभियर्स कलेज, माइतीघरबाट स्नातक – तिमी सधैं उत्कृष्टताकै खोजीमा थियौ। ती दिनहरू तिमीले पाठ्यक्रममा मात्र होइन, सामाजिक उत्तरदायित्वप्रतिको बुझाइमा पनि आफैलाई फरक साबित गर्यौ।
अमेरिकाको Fordham University बाट पूर्ण छात्रवृत्तिमा अन्तर्राष्ट्रिय तथा विकास अर्थशास्त्रमा स्नातकोत्तर हासिल गर्नु मात्र उपलब्धि होइन, तिमीले पढ्दै गर्दा गरेको फिलिपिन्सको ग्रामीण क्षेत्रमा स्थानीय तहमा सँगै बसेर गरेको कार्य, ADB को भ्रमण, अर्थशास्त्रका गहन लेखहरू, न्यूयोर्कको SpaceNova मा काम, र केनिया–कोलम्बियामा उत्पादन भएका सामग्रीहरूलाई बजारसम्म पुर्याउन तिमीले देखाएको भूमिका – यी सबै तिमीमा रहेको नेतृत्व र संवेदनशील सोचको प्रमाण हुन्।
सेन्ट ग्यालेन एस्से प्रतिस्पर्धामा तिम्रो "Rebuilding Trust in a World of Nuclear Weapons" शीर्षकमा लेखिएको निबन्धले विश्वस्तरमा तिम्रो सोचको उच्चता देखायो। जाम्बियामा CRS मा काम, IAEA मा तिमीले प्राप्त गरेको अनुभव, Cancer Care सम्बन्धि लेख र अध्यायहरू, र अन्ततः फ्रान्सेली भाषा शिक्षकदेखि युनिभेन्चर कन्सल्टिङ्गमा काम गर्दै राष्ट्रबैंकसम्मको तिमीको यात्रा – यो केवल व्यक्तिगत सफलताको कथा होइन, प्रेरणाको धरोहर हो।
म विश्वस्त छु – तिमीले अब राष्ट्रबैंकमा आफ्नो ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवलाई प्रयोग गर्दै राष्ट्र निर्माणमा प्रभावकारी योगदान पुर्याउनेछौ।
सधैं इमानदार, लगनशील र देशप्रति निष्ठावान् रहनु। तिमी जस्ता नयाँ पुस्ताका युवाबाट देशले धेरै अपेक्षा गरेको छ, र तिमी त्यो अपेक्षामा खरा उत्रिनेछौ भन्ने मलाई शतप्रतिशत विश्वास छ।