राष्ट्रिय समाचार समिति
काठमाडौँ, ६ चैत
राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बैठकको शून्य समयमा उहाँले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र देवघाटको सम्बर्द्धन र विकासका लागि सरकारसँग अनुरोध गर्नुभयो।
सांसद मायाप्रसाद शर्माले काठमाडौँको झोर क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट करिब रु २५ करोड रकम बरामद भएको घटनालाई सरकारले निष्पक्ष रूपमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गर्नुभयो। सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब रु २५ करोड नगदसहित एकजनालाई पक्राउ गरेको थियो।
सांसद मृगेन्द्रकुमार सिंह यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव डा सङ्गीता कौशल मिश्रमाथि सरकारले विभेद गर्न नहुने धारणा राख्नुभयो।
सांसद शारदादेवी भट्टले नेपाल विद्य्त् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले राष्ट्रियसभामा जानकारी गराउनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, “एक जना कर्मचारीको कारणले मुलुकमा लोड सेडिङको अन्त्य भयो भन्दैगर्दा लोड सेडिङ अन्त्य गर्न कुन सरकारले के भूमिका निर्वाह गरेको छ भन्ने विषय आमनागरिकले जानकारी पाउनुपर्छ।”
सांसद सुमित्रा विसीले धादिङसहित मुलुकका विभिन्न जिल्लामा आगालागीका घटना भइरहेका भन्दै वन कार्यालयसहित सरोकार भएका निकायलाई सचेत हुँदै नियन्त्रणमा लाग्न आग्रह गर्नुभयो। उहाँले भोलिदेखि सुरु हुने एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकार भएकालाई अनुरोध गर्नुभयो।