काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताउनु भयो ।
आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताउनु भयो । उहाँले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताउनु भयो ।
“भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाइ पाएको छ न कारबाही भएको छ । यस्तो हुनु हुँदैन,” उहाँले भन्नुभयो।
भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुुनपर्ने बताए । कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताउनु भयो । सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको बताउनु भयो।