काठमाडौंं : कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला परेको छ ।
घटनास्थल नजिकै सुसाइड नोट फेला परेको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले बताउनु भयो ।
शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन् ।
सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न ।
घटनास्थल नजिकै उनले कागजमा सुसाइड नोट लेखेर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमान्लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ ।
१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमान्बीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले आफ्नै कारणले आत्महत्या गरेको भन्दै आत्महत्याको कारणमा कसैलाई दोष लगाएकी छैनन्।
आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो । उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको छ । आचार्यका १३ र ३ वर्षका दुई छोरा छन् ।