काठमाडौँ । संघीय संसदअन्तर्गत मंगलबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।
यस्तै, आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ ।
यसैगरी, आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवत २०८१ जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको बैठकबाट धन्यवाद दिने कार्यसूची छ ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्न र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ। अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन्। अध्यक्षले विषयगत समितिमा माननीय सदस्यको नाम मनोनयन गराउने कार्यसूची हो।
यस्तै, प्रधानमन्त्री दाहालले संवत २०८१ साल जेठ १ गते राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ ।
अध्यक्षले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रश्ताव प्रश्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेश गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेश गर्ने तयारी छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूचि रहेको छ ।