काठमाडौँ : ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका- १ घर भई हाल काठमाडौं टोखा नगरपालिका- १० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए ।
पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण-१ घर भई हाल बालाजु जरंखु, मनमैजुका केही स्थानहरूमा सडकपेटी र निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजयचौतारीका २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजयचौतारीकी ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताए ।
उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।
प्रारम्भिक रूपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको प्रहरीको भनाइ छ । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।
कसरी भयो घिमिरेको हत्या?
एसएसपी रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएको पाइएको छ।
त्यसपछि घिमिरे घर जानुअघि खाजा-नास्ता खान तारकेश्वर नगरपालिका-११ स्थित एक खाजा घरमा पुगेको सिसिटिभी फुटेजसमेतले देखाएको छ।
घिमिरे खाजा खाइरहेको बेलामा सचिन परियार र अन्जली श्रेष्ठ त्यहाँ पुगेका थिए। घिमिरे र सचिनको पुरानो चिनजान थियो। अन्जलीसमेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए।
‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर (घटनास्थलसम्म) मोटरसाइकलमा पुर्याइदिन आग्रह गरे,’ रजौरेले भने, ‘घिमिरेले दुबै जनालाई मोटरसाइकलमा राखेर पुर्याइदिए।’
त्यहाँ पुगेपछि सचिनले अन्जलीलाई बिसन्चो भएको भन्दै माथिसम्म जान नसक्ने बताए। अन्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे। युवराजले सहयोग गरिदिए।
सचिन र अन्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे। हेल्मेटले उनको टाउकोमा प्रहार गरे।
लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालकसमेत एक भएर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट, ढुंगालगायतले हिर्काएर घिमिरेको हत्या गरे।
हत्या गरेपछि घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए। घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके।हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताए। घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायत कारण हुन सक्ने एसएसपी रजौरेले बताए।
पक्राउ परेकाहरू लागुऔषध प्रयोगकर्ता हुन्। बसपार्क क्षेत्रमा कार्यरत् रहँदा घिमिरेको सचिनसँग चिनजान थियो।