काठमाडौँ : ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका- १ घर भई हाल काठमाडौं टोखा नगरपालिका- १० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए ।
पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण-१ घर भई हाल बालाजु जरंखु, मनमैजुका केही स्थानहरूमा सडकपेटी र निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजयचौतारीका २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजयचौतारीकी ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताए । घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको एसएसपी रजौरेको भनाइ छ ।
उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।
प्रारम्भिक रूपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको प्रहरीको भनाइ छ । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।
त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य विरोध सुरु भएको अवस्था पत्ता लागेको बताए । युवराज घिमिरेले अञ्जलीलाई जिस्क्याएको आरोपमा विवाद भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ । अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, तामाङलगायतका साथीहरू मिली बेल्ट र विभिन्न हतियार प्रयोग गरी घिमिरेको हत्या भएको प्रहरीको भनाइ छ ।
खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवादलगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको एसएसपी रजौरेले बताए । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो ।