काठमाडौं: नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संबिधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।
कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो। सत्ता साझेदार दल एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताएका छन्।
यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात जेठ ५ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।