काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्सालस्थित २८ रोपनी पाँच आना एक पैसा जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । सीआईबीका प्रवक्ता, एसपी होबिन्द्र बोगटीले अदालतबाट पक्राउ पुर्जी जारी भएको बताए।
आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।
बाल संगठनको जग्गा हिनामिनालगायत विषयमा छानबिन गर्न सरकारले २०७६ कात्तिक ७ गते उच्च अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। चार महिनामा सरकारलाई आयोगले बुझाएको प्रतिवेदनमा यो जग्गा लिज प्रकरणमाथि प्रश्नै प्रश्न उठाइएको थियो। आयोगले यस प्रकरणसँग जोडिएका संगठनका पूर्वपदाधिकारी र बृहस्पतिका सञ्चालकमाथि सरकारले विस्तृत छानबिन गरी कारबाही गर्नुपर्ने सुझावसमेत दिएको थियो। तर यो प्रतिवेदन चार वर्ष पुग्न लाग्दासमेत महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले सार्वजनिक गरेको छैन।
२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।
पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष ९विसं २१३१ सम्म० का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।
बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ ।
वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् ।