काठमाडौं: भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा भएको आगलागीबाट झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीमा परी दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति १२ बजे आगो लागेको थियो । आगो निभाउन भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग गरिएको थियो ।
नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोली समेत खटिएका थिए ।
राति १२ बजेदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जनाएको छ।
आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं। ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् ।
त्यस्तै, भारत घर घई उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भीर घाइते छन्। उनलाई सुरुमा उपचार गर्न भक्तपुरको डा इवामुरा अस्पताल लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै कीर्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
आगलागीबाट १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतको टोली खटिएको छ ।