दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले कार्यालयमा आउने सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार कार्यालयले सेवा लिन आउने सर्वसाधारणलाई लक्षित गरी कार्यालय परिसरमै स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको हो ।
भौगोलिक र अन्य सुविधाका हिसाबले दुर्गम मानिएको जिल्ला दैलेखमा जनताको आवश्यकता र हितलाई मध्यनजर गर्दै सेवाग्राहीहरूको स्वास्थ्यलाई समेत ध्यानमा राखेर निरन्तर सेवा दिने गरी सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालन गरिएको भुसालले बताउनुभएको छ ।
‘हामीले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको महसुस गरेका छौं । जनताको सहजता नै हाम्रो प्राथमिकता हो । यसकारण नै बनाइएको यो योजना प्रभावकारी बन्दा खुसी लागेको छ' प्रजिअ भुसालले भन्नुभयो ।
भुसालका अनुसार दिउँसो १२ बजेदेखि ०२ बजेसम्म कार्यालयमा उपस्थित भएका सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण कक्षबाट सेवा लिन सक्नेछन् ।
स्वास्थ्य परीक्षण कक्षका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट निः शुल्क औषधि तथा जिल्ला अस्पतालबाट एकजना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको प्रजिअ भुसालले बताउनुभयो ।
प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग 'प्रमुख जिल्ला अधिकारी कार्यक्रम' प्रभावकारी बन्दै गइरहेको छ ।
प्रजिअ भुसालले हरेक दिन दिउँसो १ बजे सेवाग्राहीसँगै बसेर उनीहरूका समस्या र गुनासा सुन्ने गर्नुभएको छ ।
यो कार्यक्रम अन्तर्गत लैंगिक हिंसा, बालविवाह र लागुऔषध दुर्व्यसनलगायत समस्या न्यूनीकरण गर्ने विषयमा समेत सेवाग्राहीसँग छलफल गरिरहेको प्रजिअ भुसालले जानकारी दिनुभयो ।
