काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले ६ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला, सोलुखुम्बुको खुम्बु गाउँपालिकाको वडा नम्बर १ बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापामगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाएको छ ।
साविक जुभिङ गाविस–५ को सरकारी जग्गा नक्कली श्रेष्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले सरकारी जग्गा व्यक्ति नाममा गरी ६ लाख १८ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।