काठमाडौँ: सिराहामा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्
पक्राउ पर्नेमा लहान नगरपालिका १ बस्ने ३४ वर्षीया सरिताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गत मंगलबार बिहानदेखि ५ वर्षीय छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइन्। छिमेकीले खोजी गर्दा बालक भेटिएका थिएनन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले खोजी गर्ने क्रममा लहानबाट खटेको प्रहरी टोलीले आयुशलाई मृत अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
‘उनी सुत्ने कोठामा रहेको खाटको घर्राभित्र आयुशको शव फेला परेको हो,’ उनले भने, ‘घाँटी थिचेर हत्या गरेकोजस्तो देखिन्छ। उनले बयानमा पनि छोराको हत्या गरेको स्वीकार गरेकी छन्।’
शवको पोस्टमर्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए।
घटनामा संलग्न आरोपमा मृतक आयुशको आमा सरितालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।