काठमाडौँ: झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।
विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर साङ्तान, २२ वर्षीय सुनिल साङ्तान, २५ वर्षीय बुुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २१ वर्षीय सुजन स्याङ्तान रहेका छन् ।
उनीहरुको साथबाट मोटरसाइकल दुई थान, मोबाइल सेट सात थान, हतौडा, प्लासलगायतका समान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।
झापा जिल्ला अदालतबाट चोरी कसुरमा अनुसन्धानका लागि पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न सुरु गरिएको चन्दले बताउनु भयो ।
गत चैत २० गते राति गौरादह वडा नं. ५ मा एकैदिन तीन वटा सहकारी संस्थामा चोरी भएको थियो । स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएपछि सहकारीका अगुवा तथा सञ्चालकहरुले घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिदै आएका थिए ।