काठमाडौं। आज २६२३औँ महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ ।
करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए ।
महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको बताइन्छ । १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् ।
महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ । शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ ।