काठमाडौँ : काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अपरिचित समुहले बुद्धचित्तको बोट फडानी गरेका र स्थानीयको घरको ढोकामा बम राखिएको पाइएको छ।
गाउँपालिका- ५ सिपालीस्थित ठकुरानी तामाङको घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बिहीबार राती अपरिचित समुह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको स्थानीयले जानकारी दिए । स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन्। उक्त माला गत आर्थिक वर्षमा ९० लाखमा कारोबार भएको थियो ।
शुक्रबार राति करिब १ बजे तामाङको बारीमा रहेको बुद्ध चित्तको मालाको बोट काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट बिहान साढे २ बजे टोली घटनास्थलमा पुगेको थियो। टोली पुग्दा बुद्ध चित्तको बोट काटिएको र आँगनमा चारवटा घरेलु सकेट बम राखिएको फेला परेको डिएसपी श्रेष्ठले बताए।
उक्त स्थलमा जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट, हसिया हतौडा अंकित झण्डा र मट्टीतेल फेला परेको जिल्ला प्रहरीले जनाएको छ । रुख काटेर जाने क्रममा नेकपा माओवादी जिन्दावाद भन्ने नारा लगाउँदै गएको स्थानीयले बताए।
अहिले घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन्। नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताइन् ।